सुशानका पक्ष र नेपालको स्थिति


प्रश्न नं : २. सुशासनका विभिन्न पक्षहरु उल्लेख गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस्

उत्तर :
सुशासन
   
सरकारद्वारा राज्यको संचालन एवं ब्यवस्थापनका लागि गर्ने कार्य तथा अपनाउने कार्यशैली शासन हो । शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासन प्रणाली नै सुशासन हो ।
जनताको वृहत्तर हित हुने गरी संचालित शासन नै सुशासन हो ।
सुशासनका पक्षहरु
   
सुशासन शासन प्रणालीसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले यसले वहुआयमिकता र बहुपक्षीयता अंगालेको हुन्छ । यसका प्रमुख पक्षहरु निम्न छन् :
–   
राजनैतिक पक्ष : राजनैतिक रुपमा बैधानिक शासन, प्रजातान्त्रिक मूल्य,मान्यता, बहुलवाद, जनसहभागीता जस्ता पक्षहरु सुशासनका राजनैतिक पक्ष हुन् ।
–   
सामाजिक पक्ष :सामाजिक न्याय र समानता, समावेशीकरण सशक्तिकरण, नागरिक अधिकार र मानव विकास जस्ता पक्षहरु सुशासनका सामाजिक पक्ष अन्र्तगत पर्दछन् ।
–   
कानूनी पक्ष :कानुनको शासन, न्यायिक सर्वोच्चता, सरल र सक्षम न्यायप्रणाली, जनमुखी कानूनी ब्यवस्था आदि सुशासनका कानूनी पक्ष हुन् ।
–   
आर्थिक पक्ष :आर्थिक विकास, स्रोतसाधनको वितरणात्मक न्याय, वित्तीय अनुशासन, सदाचार, पारदर्शीता र जवाफदेहिता जस्ता विषयहरु सुशासनका आर्थिक पक्ष हुन् ।
–   
ब्यवस्थापकीय पक्ष :जनउत्तरदायी प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, निर्णय प्रक्रियामा सरोकारवालाहरुको सहभागीता, प्रतिस्पर्धात्मक क्षमता आदि सुशासनका ब्यवस्थापकीय पक्ष अन्र्तगत पर्दछन् ।
सुशासनका पक्षहरु र नेपालको शासन ब्यवस्था
   
नेपालको शासन ब्यवस्था मूलतः लोकतान्त्रिक, गणतन्त्रात्मक, संसदीय शासन प्रणाली हो । संबैधानिक रुपमा संघीय गणतन्त्रको रुपमा स्थापित हुनखोजेको र यसले मूर्तता पाइनसकेको संक्रमणकालिन स्थितिमा वर्तमान शासन प्रणाली संचालित छ । प्रस्तुत पृष्ठभूमीमा सुशासनका पक्षहरुका आधारमा नेपालको शासन ब्यवस्थालाई निम्नानुसार बँुदागत रुपमा विश्लेषण गर्न सकिन्छ :
क) राजनैतिक पक्ष :नेपालको शासन ब्यवस्था राजनैतिक रुपमा बैधानिक शासनयुक्त, लोकतान्त्रिक चरित्र बोकेको शासन ब्यवस्था हो । यद्यपी शासकीय प्रकृयामा जनसहभागीता, बहुलवाद जस्ता मान्यताहरुलाई पूर्णतः आत्मसात गर्न र राजनैतिक स्थिरता प्राप्त गर्नसकेको छैन । हाल भने राजनैतिक स्थिरता कायम गर्ने दिशातिर नेपाल अगाडी बढीरहेको देखिन्छ ।

ख) सामाजिक पक्ष : शासन ब्यवस्थाले सामाजिक रुपान्तरणका लागि सामाजिक न्याय, समावेशीता, नागरिक हक अधिकारको प्रत्याभूति, समन्याय जस्ता पक्षहरुलाई विभिन्न माध्ययमहरुद्वारा अख्तियार गरेको छ । तथापी नेपालको सामाजिक क्षेत्र अझसम्म रुपान्तरण कै पर्खाइमा रहेकोले सुशासनको सामाजिक पक्ष दह्रो बन्न सकेको छैन । कानुनी रुपमा शोषण र विभेदको अन्त्य भएतापनि पूर्ण रुपमा व्यवहारिक तवरले यस्तो शोषण र विभेदको अन्त्य भएको देख्‍न पाइएको छैन ।

ग) कानूनी पक्ष :कानूनी शासन र स्वतन्त्र न्यायपालिका संवैधानिक एवं कानूनी प्रत्याभूति गरिएको छ तर नेपालको शासन ब्यवस्था कानुनको परिपालना र सही कार्यान्वयनमा पूर्णतया सफल बन्नसकेको भने छैन ।

घ) आर्थिक पक्ष :वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहिताको सुनिश्चित्ताका लागि नेपालमा पर्याप्त नीतिगत, संस्थागत र कार्यगत ब्यवस्थाहरु गरिएको छ । यसमा केही सुधारहरु देखिएका पनि छन् । यद्यपी नेपालको आर्थिक शासन सुशासनयुक्त बन्नसकेको स्थिति भने छैन ।

ङ) व्यवस्थापकीय पक्ष: सार्वजनिक सेवा प्रवाहको स्थिति र सार्वजनिक सेवाप्रदायक सरकारी अंगको स्थिति सुशासनको कसीमा खरो उत्रिन सकेको छैन । ब्यवस्थापकिय पक्षमा नेपालको शासन ब्यवस्थाको सुधारका लागि विगत देखि नै विभिन्न प्रयासहरु हुँदै आएका छन् ।

यसप्रकार नेपालको शासन ब्यवस्थालाई सुशासनका विविध पक्षहरुको कसीमा राखेर विश्लेषण गर्दा यसको मिश्रित अवस्था पाउन सकिन्छ । सुशासन देशले अबलम्बन गरको शासन ब्यवस्थाको गन्तब्य समेत भएकोले यस दिशामा देशको पर्याप्त ध्यान जान जरुरी देखिन्छ ।

विस्तृत लेखन तथा अध्ययनको लागि यो लिङ्कमा जानुहोस । pramodmainali2ndpaper.blogspot.com

Comments

Popular posts from this blog

शासनको अवधारणा, पक्षहरु र विशेषताहरु

राष्ट्र निर्माणका प्रयास र चुनौतीहरु

राष्ट्र निर्माण र राज्य निर्माणका फरक